दैलेख : लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । बुधबार राती समुदायका २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो । अत्यधिक मदिरा सेवनका कारण उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गइरहेको थियो । मदिरा सेवनकै कारण उनी विगत ६ महिनादेखि बिरामीले थला परेका थिए । उनलाई उपचारका लागि गत भदौ ३१ गते कर्णाली प्रदेश अस्पताल सुुर्खेत लगिएको थियो ।
राउटे नागरिकहरु आम नागरिक सरह उपचार गर्न मान्दैनन् । थप उपचारमा समस्या भएपछि बस्तीमा लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । राउटे समुदाय हाल दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालमा बसोबास गर्दै आईरहेका छन् । अस्पतालबाट बस्तीतर्फ लैजाँदैै गर्दा कल्याणकाँधमा मृत्यु भएको राउटे परियोजनाबाट खटिएका शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।
‘मृतक युवा विगत ६ महिनादेखि बिरामी परेका थिएँ, हामीले सम्झाई बुझाई अस्पताल पु¥याउनका लागि सबै प्रयास ग¥यौँ, तर अस्पताल जानै मानेनन्, बिरामी भएर थप थला पर्न थालेपछि भदौ ३१ गते अस्पताल जान तयार भए,’ खत्रीले भने, ‘बुबाआमालाई सँगै लिएपछि मात्रै अस्पताल जान्छु भनेपछि बुबाआमालाई साथमा लिएर अस्पताल पठाएका थियौँ ।’ गुराँस गाउँपालिकाको सहयोगमा उनलाई प्रदेश अस्पताल पु¥याइएको थियो ।
अस्पतालमा खकार परीक्षण गर्दा क्षयरोग (टिबी) रोग देखिएको परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले जानकारी दिए । ‘राउटे युवाको उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी रोग देखिएको भन्नुभयो, क्यान्सर पो होकी भनेर मासु लिएर चेक गर्न खोज्दा राउटे मन्जुर भएनन् । अस्पतालले डिस्चार्ज गरिदियो । फर्काएर बस्तीतिर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो,’ बिसीले भने । मृतक युवा कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साईला सन्तान हुन् । यसअघि मृतकका दाजु कपिल शाहीको ६ वर्षअघि मृत्यु भएको थियो ।
२०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् । मृतक वृषबहादुर शाहीसँगै राउटेको जनसंख्या घटेर एक सय ३४ मा झरेको छ । यो समुदायको संख्या निरन्तर घट्दो क्रममा छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको मात्र जन्म भएको राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले बताए ।
अत्यधिक मदिरा सेवन, अस्वस्थकर खानपान, कुपोषणलगायतका कारण यो समुदाय उच्च जोखिममा छ । यो समुदायमा अत्यधिक मदिरा सेवनकै कारण ज्यान गुमाउनेको संख्या पनि उच्च छ । काठ र कपडाको पाल मुनि चिसो भुइँमा रात बिताउने यो समुदायका महिला, बालबालिका र वृद्धवृद्धा थप जोखिममा छन् ।






